काठमाडौं । एकल महिलाले पुनः विवाह गरेपछि पहिलो श्रीमान्को सम्पत्तिबाट प्राप्त गरेको अंश फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ।
सर्वोच्चको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) संविधानसँग बाझिएको ठहर गर्दै उक्त प्रावधान अमान्य घोषित गरेको हो। महिला कानून तथा विकास मञ्चसहित तीन संस्थाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले यस्तो फैसला गरेको हो। उक्त व्यवस्थाअनुसार विधवाले अर्को विवाह गरेमा पहिलो पतिको सम्पत्तिबाट अंशका रूपमा पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने प्रावधान थियो।
तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी सम्मिलित इजलासले २१ वैशाख २०८३ मा उक्त प्रावधान खारेज गर्ने निर्णय गरेको थियो। सर्वोच्चले संविधानको धारा १६ अन्तर्गतको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ को समानताको हक र धारा २५ ले सुनिश्चित गरेको सम्पत्तिको हकसँग देवानी संहिताको उक्त व्यवस्थाको तुलना गरेको थियो। त्यस क्रममा पुनः विवाहकै कारण महिलाले वैधानिक रूपमा प्राप्त गरिसकेको सम्पत्तिमाथि प्रतिबन्ध लगाउनु संविधानसम्मत नभएको निष्कर्ष अदालतले निकालेको हो।
अदालतका अनुसार यस्तो कानुनी व्यवस्थाले एकल महिलालाई आर्थिक रूपमा कमजोर बनाउनुका साथै पुनः विवाह गर्नसमेत निरुत्साहित गर्ने अवस्था सिर्जना गर्न सक्छ। त्यसैले विवाह गर्ने, परिवार कायम गर्ने र पारिवारिक जीवन बिताउने व्यक्तिको स्वतन्त्रतामा समेत यसले असर पार्ने सर्वोच्चको ठहर छ। सर्वोच्चले वैधानिक प्रक्रियाबाट महिलाको स्वामित्वमा आइसकेको अंश केवल वैवाहिक अवस्था परिवर्तन भएको कारण फिर्ता गराउन नमिल्ने स्पष्ट गरेको छ। अदालतले यस्तो व्यवस्था संविधानले प्रत्याभूत गरेको सम्पत्तिको अधिकारको मूल मर्मविपरीत हुने जनाएको छ।
साथै, उक्त प्रावधान महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिका व्यवस्थासँग समेत असंगत रहेको सर्वोच्चले उल्लेख गरेको छ। यसअघि कानूनले प्रदान गरिसकेको अधिकार वा सुविधा पछिल्लो कानून बनाएर खोस्न, घटाउन वा हटाउन नमिल्ने भन्दै अदालतले त्यस्तो व्यवस्थालाई संवैधानिक मान्यता दिन नसकिने स्पष्ट पारेको छ।
