काठमाडौं । बडादशैं नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नागरिक परिवारसँग चाडपर्व मनाउन गाउँ फर्किन थालेपछि नयाँ बसपार्कमा यात्रुको भीड बढेको हो। नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लातर्फ जाने सार्वजनिक सवारीसाधनमा यात्रुको चाप उल्लेख्य देखिएको छ। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनको अवधिमा मात्रै दुई लाख सात हजार २५१ यात्रु काठमाडौं बाहिरिएका छन्।
उक्त अवधिमा असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६, २० गते २९ हजार ६०२, २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१, २३ गते ३१ हजार १२३, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० जनाले नयाँ बसपार्कबाट यात्रा गरेका छन्। तथ्यांकअनुसार असोज २३ गते सबैभन्दा धेरै ३१ हजार १२३ यात्रु बाहिरिएका थिए। दशैंका लागि घर जाने यात्रुको संख्या बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको व्यवसायीहरूले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सडकको दयनीय अवस्थाले यात्रु व्यवस्थापन थप जटिल बनेको छ।
उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ सुरु भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि यातायात आवागमन प्रभावित भएको थियो। सडक अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएकाले यात्रुलाई गन्तव्यसम्म पुर्याउन समस्या भएको उनले बताए। यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुहरूलाई आधिकारिक टिकट लिएर मात्र यात्रा गर्न, सरकारले तोकेकोभन्दा बढी भाडा नतिर्न र आफू चढ्ने सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न आग्रह गरेको छ। दशैंमा परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउने परम्पराका कारण राजधानीबाट बाहिरिने यात्रुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। यात्रुको चापसँगै सुरक्षित यात्रा, सहज यातायात सेवा र सडकको अवस्थामाथि पनि ध्यान दिनुपर्ने देखिएको छ।
