विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न अर्थमन्त्री वाग्लेको एडिबीलाई आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछि नेपालको पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन एसियाली विकास बैंक (एडिबी)सँग आग्रह गरेका छन्।

थाइल्याण्डको बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले एडिबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा यस्तो आग्रह गरेका हुन्। भेटका क्रममा उनले विपद्पछिको पुनरुत्थान, जलवायु परिवर्तनका असर सामना गर्न सक्ने गरी पूर्वाधारको पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता पूरा गर्न आवश्यक स्रोत परिचालनमा सहयोग गर्न आग्रह गरेका थिए।

यसअघि बाढीपछिको उद्धार तथा राहतका लागि आपत्कालीन अनुदान छिटो स्वीकृत गर्नुका साथै सहयोग र ऐक्यबद्धता व्यक्त गरेकोमा अर्थमन्त्री वाग्लेले एडिबीप्रति आभार व्यक्त गरेका थिए। जवाफमा एडिबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका छन्। भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्सालसमेत सहभागी थिए।

Back To Top
Modern Footer Design