काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्।
आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्रले गति लिन नसक्ने बताए। व्यवसायीलाई खुला रूपमा कारोबार गर्न र जिम्मेवार नागरिकका रूपमा कर तिर्न प्रोत्साहित गर्न सरकारले विभिन्न नीतिगत तथा कर सुधारका कार्यक्रम अघि बढाएको उनको भनाइ थियो। मन्त्री वाग्लेले आयकरको सीमा पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै लामो समयदेखि परिवर्तन नभएको कर संरचनामा सुधार गरिनुपर्ने बताए। साथै, शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण ठूलो परिमाणमा बक्यौता थुप्रिएको भन्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार तोकिएको मूल कर रकम भुक्तानी गरेपछि थप जरिवाना र शुल्कमा छुट दिने व्यवस्था गरिएको छ, जसले व्यवसायीलाई नयाँ ढंगले व्यवसाय सुरु गर्न सहज बनाउनेछ। अर्थमन्त्री वाग्लेले आर्थिक सुधारका लागि बजेट मात्र कुर्नु नपर्ने उल्लेख गर्दै मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट समेत आवश्यक नीतिगत निर्णयमार्फत सुधारका काम अघि बढाउन सकिने बताए। उनले वर्तमान सरकारले उद्यमी–व्यवसायीप्रति सकारात्मक दृष्टिकोण अपनाएको दाबी गर्दै निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारका रूपमा स्वीकार गरी व्यवसाय र कर संस्कृतिलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको बताए।
