एफएटिएफको खैरो सूचीबाट बाहिरिन नेपाललाई अझै चुनौती

फ्रान्स । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा आतंकवाद वित्तीयकरण नियन्त्रणसम्बन्धी आवश्यक सुधारका काम पूरा गर्न नसकेपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को खैरो सूची (ग्रे लिस्ट) मै कायम रहेको छ।

फ्रान्सको पेरिसमा जुन १७ देखि १९ सम्म सम्पन्न एफएटिएफको पूर्ण बैठकले नेपाललाई हालका लागि ग्रे लिस्टबाट हटाउने निर्णय नगरी यथावत् राख्ने निर्णय गरेको हो। एफएटिएफले नेपालले केही प्राविधिक कमजोरी सुधार गर्न प्रारम्भिक प्रगति गरेको स्वीकार गरेको छ। विशेषगरी लक्षित वित्तीय प्रतिबन्धसम्बन्धी क्षेत्रमा सुधारका प्रयास भए पनि अझै धेरै महत्वपूर्ण काम बाँकी रहेको निष्कर्ष निकालिएको छ। नेपाललाई सन् २०२५ को फेब्रुअरीमा ग्रे लिस्टमा राखिएको थियो।

त्यसपछि नेपालले एफएटिएफ तथा एसिया–प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङसँग सहकार्य गर्दै प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाएको थियो। तर, तय गरिएको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको एफएटिएफको मूल्याङ्कन छ। एफएटिएफका अनुसार नेपालले सम्पत्ति शुद्धीकरण र आतंकवाद वित्तीयकरणसम्बन्धी जोखिमको पहिचान र विश्लेषणलाई अझ प्रभावकारी बनाउनुपर्नेछ। साथै, वाणिज्य बैंक, उच्च जोखिममा रहेका सहकारी संस्था, क्यासिनो, सुनचाँदी व्यवसाय तथा रियल इस्टेट क्षेत्रमा जोखिमका आधारमा निगरानी र सुपरिवेक्षणलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। यसैगरी, अवैध हुन्डी तथा गैरकानुनी रकम स्थानान्तरण गर्ने सेवा प्रदायकहरूलाई पहिचान गरी कारबाही गर्नुपर्ने, तर त्यसक्रममा वित्तीय पहुँच र समावेशितामा असर नपर्ने सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिइएको छ।

एफएटिएफले अनुसन्धान निकायहरूको क्षमता अभिवृद्धि, आपसी समन्वय, मुद्दा दर्ता र अनुसन्धानको प्रभावकारिता बढाउनुपर्ने आवश्यकता औंल्याएको छ। अपराधबाट प्राप्त सम्पत्ति पहिचान, रोक्का, जफत र नियन्त्रणका उपायहरूलाई पनि थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको छ। एफएटिएफको निष्कर्ष अनुसार नेपालले केही क्षेत्रमा सुधारका संकेत देखाए पनि दीर्घकालीन तथा परिणाममुखी कार्यान्वयन अझै आवश्यक छ। यस निर्णयसँगै नेपालमाथि सुधार कार्ययोजना छिटो र प्रभावकारी रूपमा पूरा गर्न थप दबाब बढेको छ।

Back To Top
Modern Footer Design