रस लाफ्फान विस्फोट : घाइतेको संख्या ५४, खोजी कार्य जारी

कातार। कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ। घटनामा हालसम्म ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु टोली (लख्विया) तथा सिभिल डिफेन्सका टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन्। प्रारम्भिक विवरणमा औद्योगिक क्षेत्रमा रहेको कारखानामा प्राविधिक समस्या हुँदा आन्तरिक विस्फोट र आगलागी भएको उल्लेख गरिएको थियो। पछि अद्यावधिक गरिएको विवरणमा घाइतेको संख्या ५४ पुगेको पुष्टि गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको बताइएको छ।

कतार ऊर्जा कम्पनीका अनुसार बार्जान ग्यास आपूर्ति सुविधामा सञ्चालन सुरु गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न भएपछि विस्फोट र आगलागी भएको हो।उक्त घटना आइतबार साँझ भएको बताइएको छ। आपतकालीन प्रतिक्रिया टोलीले तत्काल आगो नियन्त्रणमा लिएको र हाल अवस्था नियन्त्रणमा रहेको अधिकारीहरूले जनाएका छन्। साथै, घटनाबाट कुनै ग्यास चुहावट वा सार्वजनिक सुरक्षामा खतरा नभएको स्पष्ट पारिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।

Back To Top
Modern Footer Design