आईपीओ निष्कासनका लागि थप चार कम्पनी सेबोनको अनुमतिको पर्खाइमा

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि थप चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै आवेदन दिएका छन्।

मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ जारी गर्न अनुमति मागेका हुन्। चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित बोर्डमा आवेदन दिएका छन्। कम्पनीहरूले साउनमै आवेदन दिए पनि सेबोनले हालै आफ्नो वेबसाइटमार्फत यसको विवरण सार्वजनिक गरेको हो।

मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको छ। यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, इन्द्रेणी मसरुम फार्मले ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले पनि साउन २२ गते आवेदन दिएको हो भने बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

मध्यपुर अस्पतालले पनि साउन २२ गते नै २८ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। अस्पतालको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यसैगरी, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले साउन २९ गते २४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा आवेदन दिएको हो। यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। चार कम्पनीले संयुक्त रूपमा ८३ लाख २ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्।

प्रतिकित्ता १०० रुपैयाँका दरले हेर्दा यी कम्पनीले कुल ८३ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको पुँजी सर्वसाधारणबाट जुटाउने तयारी गरेका छन्। तर, पछिल्लो समय सेबोनले नयाँ आईपीओ निष्कासनको स्वीकृति प्रक्रिया अघि बढाएको छैन। बोर्डले गत वैशाख २ गतेयता कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन। प्राथमिक बजारमा सुधार ल्याउने उद्देश्यले विभिन्न नीतिगत योजना अघि सारेको सेबोनले सुधारका प्रक्रिया पूरा भएपछि मात्रै नयाँ आईपीओको स्वीकृति दिने संकेत गर्दै आएको छ। त्यसैले आवेदन दिएका यी चार कम्पनीको आईपीओ स्वीकृति बोर्डको आगामी नीतिगत निर्णयमा निर्भर हुने देखिएको छ।

Back To Top
Modern Footer Design