काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँपन र सिर्जनात्मकता थप्ने उद्देश्यले ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सञ्चालनमा ल्याएको छ।
नयाँ पुस्ताका प्रतिभा र नेपाली मौलिक संगीतलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सिरिजको औपचारिक सुरुआत गरिएको हो। यस कार्यक्रममार्फत हरेक दुई सातामा नयाँ मौलिक गीत तथा तिनका म्युजिक भिडियो सार्वजनिक गरिने आयोजकले जनाएको छ। नेपाली संगीतमा नयाँ प्रयोगलाई प्रोत्साहन गर्नुका साथै युवा कलाकारको प्रतिभा र आवाजलाई दर्शकमाझ पुर्याउने यस पहलको उद्देश्य रहेको छ।सिरिजको पहिलो सिजनमा नयाँ पुस्ताका नौ जना कलाकार सहभागी हुनेछन्।
सहभागी कलाकारमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। आयोजकका अनुसार कलाकारहरूका गीत तथा सांगीतिक प्रस्तुतिहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’को आधिकारिक युट्युब च्यानलमार्फत क्रमशः सार्वजनिक गरिनेछन्। यस पहलले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभालाई अवसर दिनुका साथै मौलिक सिर्जनालाई थप दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ।
