एक सातामै ‘कबड्डी–५’को कमाइ १६ लाखमा सीमित

काठमाडौं । प्रदर्शनको सुरुवाती दिनमा बक्स अफिसमा राम्रो व्यापार गरेको नेपाली चलचित्र ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’को कमाइ पछिल्लो समय निकै खस्किएको छ। प्रदर्शनको पहिलो सातामै करिब १० करोड रुपैयाँ कमाएको फिल्मले पछिल्लो एक सातामा भने १६ लाख रुपैयाँ मात्रै व्यापार गरेको छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस विवरणअनुसार फिल्मले पछिल्लो सात दिनमा १६ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको हो। करिब एक महिनाअघि हलमा प्रदर्शनमा आएको यो फिल्मले सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाएको थियो। फिल्मले पाएका शो र हलमा देखिएको दर्शकको चापले यसको व्यापार थप उकालो लाग्ने संकेत गरेको थियो। तर, समय बित्दै जाँदा दर्शकको उपस्थिति घटेसँगै कमाइ पनि निरन्तर ओरालो लागेको देखिन्छ।

‘कबड्डी’ ब्रान्डप्रतिको दर्शकको आकर्षणले फिल्मलाई सुरुवाती व्यापारमा सहयोग पुगेको देखिए पनि त्यसलाई लामो समयसम्म कायम राख्न सकेन। फिल्मको प्रचार, कलाकारको लोकप्रियता र पुरानो ब्रान्डप्रतिको आकर्षणले प्रारम्भिक दिनमा दर्शक ताने पनि त्यसपछिको व्यापारमा दर्शकको प्रतिक्रिया निर्णायक हुने गर्छ।

फिल्मले अपेक्षाअनुसार दर्शकको साथ पाउन नसक्नुमा कमजोर समीक्षा र दर्शकबाट प्राप्त प्रतिक्रियालाई पनि कारण मानिएको छ। पहिलो साताको उत्साहजनक व्यापारपछि फिल्मको कमाइ क्रमशः घट्दै गएको हो। यसैबीच, माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’को व्यापार पनि सुस्त देखिएको छ। बोर्डको विवरणअनुसार फिल्मले पछिल्लो एक सातामा ७४ हजार रुपैयाँ मात्रै कमाइ गरेको छ।

Back To Top
Modern Footer Design