पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुख अर्यालको जोड

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विकास निर्माणका योजना अघि बढाउनुअघि भौगर्भिक अवस्था र सम्भावित जोखिमबारे वैज्ञानिक अध्ययन गर्नुपर्ने बताएका छन्। उनले पूर्वाधार विकासलाई सुरक्षित र दिगो बनाउन भौगर्भिक अध्ययन तथा जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेपाल भौगर्भिक समाजले आयोजना गरेको भौगर्भिक सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल र सहरी पूर्वाधार निर्माण गर्दा सम्बन्धित क्षेत्रको भौगर्भिक अवस्थाबारे गहिरो अध्ययन आवश्यक रहेको बताए। भौगोलिक बनावटका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले यस्ता घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न अनुसन्धान, पूर्वतयारी र जोखिमको समयमै पहिचान गर्नुपर्ने बताए। उनले हिमालय क्षेत्रको भूगर्भीय अवस्थालाई विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनसँग जोडेर योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्ने धारणा राखे। विकासका काम गर्दा प्राकृतिक जोखिमलाई बेवास्ता गरिए त्यसले भविष्यमा ठूलो क्षति निम्त्याउन सक्ने भएकाले वैज्ञानिक तथ्य र अध्ययनका आधारमा निर्णय लिनुपर्ने उनको भनाइ थियो।

संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्त्व दिएको स्मरण गराउँदै सभामुख अर्यालले ती संवैधानिक व्यवस्थालाई व्यवहारमा लागू गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताए। सम्मेलनमा नेपाल भौगर्भिक समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भौगर्भिक अवस्था, भूविज्ञानसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको व्यवस्थापन तथा पर्वतीय क्षेत्रको दिगो विकासबारे अनुभव र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। आगामी शनिबारसम्म सञ्चालन हुने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक क्षेत्रका अनुसन्धानकर्ता तथा विज्ञ सहभागी छन्।

Back To Top
Modern Footer Design