रास्वपाभित्र रवि र बालेनबीच शक्ति संघर्ष चलिरहेको छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच आन्तरिक शक्ति संघर्ष चलिरहेको दाबी गरेका छन्।

बिहीबार दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले रास्वपाभित्रको विवाद अहिले सतहमा देखिन थालेको बताएका हुन्। उनले पार्टी सभापति र प्रधानमन्त्रीबीचको टकराव विभिन्न घटनाक्रममार्फत बाहिर आएको उल्लेख गरे। उनका अनुसार उक्त विवाद सर्वोच्च अदालतमा पुगेका मुद्दादेखि प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनसम्मका घटनामा देखिएको छ। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले राज्यका विभिन्न निकायमा समेत प्रभाव पार्न थालेको उनको आरोप छ।

पुनले रास्वपाभित्रको विवादकै कारण सञ्चारमाध्यममाथि हस्तक्षेप बढेको र पार्टीभित्रै पनि नेताहरूलाई सभापति वा प्रधानमन्त्री निकटताका आधारमा हेर्ने प्रवृत्ति विकसित भएको दाबी गरे। उनले राज्यका निकायबाट हुने कारबाहीमा कानुनी प्रक्रिया, प्रमाण र विधिभन्दा राजनीतिक निकटतालाई आधार बनाउने प्रवृत्ति बढेको आरोपसमेत लगाए। सभापति निकट व्यक्तिहरूमाथि कारबाही हुने तर प्रधानमन्त्री निकट व्यक्तिहरूले उन्मुक्ति पाउने अवस्था देखिएको उनको भनाइ थियो।

सरकारले पूर्वप्रधानन्यायाधीश, सचिव, उद्योगी तथा व्यवसायीलाई पक्राउ गर्ने तर पछि पर्याप्त आधारबिना छाड्ने गरेको प्रसंग उल्लेख गर्दै पुनले यसले राज्य सञ्चालनमा स्वेच्छाचारिता बढेको टिप्पणी गरे। उनले सत्तारुढ दलभित्रको यही आन्तरिक शक्ति संघर्षका कारण सरकारका कामकारबाही र राज्यका विभिन्न निकायको भूमिकामाथि प्रश्न उठिरहेको दाबी गरे।

Back To Top
Modern Footer Design