विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइने भएको छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को मर्यादाक्रमअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिन लागिएको हो। प्रधानमन्त्री शाह आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। उनी सोमबार साँझ स्वदेश फर्किने तालिका छ।

आफू विदेशमा रहँदा सरकारको दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न प्रधानमन्त्री शाहले ऊर्जा मन्त्री श्रेष्ठलाई जिम्मेवारी सुम्पिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति पौडेलले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नेछन्।

Back To Top
Modern Footer Design