काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा सभापति थापाले नवनिर्वाचित नेताहरूलाई शपथ गराएका हुन्। शपथ ग्रहणसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो। यसपटक नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदबहालीसमेत गराउने व्यवस्था गरिएको उनले जानकारी दिएका छन्। यससँगै कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हालेको छ।
