मधेसको ठूलो दलको नेताका रूपमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त, लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोजकुमार यादव नयाँ मुख्यमन्त्री बनेका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आइतबार बिहान यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअघि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। तर, तोकिएको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

संवैधानिक व्यवस्थाअनुसार नवनियुक्त मुख्यमन्त्री यादवले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। उनले विश्वासको मत प्राप्त गर्न नसके प्रदेशसभाका कुनै सदस्यले बहुमत जुटाउन सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन्।

त्यसरी नियुक्त हुने मुख्यमन्त्रीले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। उक्त प्रक्रियाबाट समेत सरकार गठन हुन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभा विघटन गरी छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्नुपर्ने हुन्छ। १०२ सदस्यीय मधेस प्रदेशसभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा जसपाका २८ सांसद छन्। त्यस्तै, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्। यसअघि नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारबाट एमाले असोजमा र नेपाली कम्युनिस्ट पार्टी कात्तिकको तेस्रो साता बाहिरिएपछि मधेस प्रदेशको राजनीतिक समीकरण फेरिएको थियो।

Back To Top
Modern Footer Design