काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आउने क्रम आइतबार पनि जारी रहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ कायम थियो। यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँको कमी हो।
यता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको कारोबार प्रतिऔँस ३ हजार ५ सय २५ अमेरिकी डलरमा भइरहेको छ। सुनको मूल्य लगातार घट्न थालेपछि बजारमा यसको प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ।
