बागमती सिँचाइ आयोजनामा ज्यालादारी कर्मचारीको आन्दोलन जारी, कार्यालयमा तालाबन्दी

सर्लाही । सर्लाहीको कर्मैयास्थित बागमती सिँचाइ आयोजनाको कार्यालयमा ज्यालादारी कर्मचारीहरूको आन्दोलनले निरन्तरता पाएको छ। उमेर हदका कारण दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाउने निर्णयको विरोध गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनरत कर्मचारीहरूले कार्यालयको मूल गेटमा धर्ना दिँदै आफ्नो माग पूरा गर्न दबाब दिइरहेका छन्। यसअघि गत मंगलबार आन्दोलन परिचालन समितिले आयोजनाको कार्यालयमा तालाबन्दीसमेत गरेको थियो। कर्मचारीहरूले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि तोकिएको उमेर हद खारेज गर्नुपर्ने र २०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा आवश्यक सुधार गर्नुपर्ने माग अघि सारेका छन्।

आन्दोलन परिचालन कमिटीका संयोजक सुरज पासवानका अनुसार पूर्वघोषित कार्यक्रमअन्तर्गत मंसिर १ गतेदेखि ७ गतेसम्म कार्यालयको मूल गेटमा तालाबन्दी र धर्ना जारी राखिनेछ। बागमती सिँचाइ आयोजनामा विभिन्न पदमा रहेर २४४ जना ज्यालादारी कर्मचारी कार्यरत छन्। उमेर हदसम्बन्धी निर्णय र सिँचाइ नर्म्समा सुधारको माग गर्दै कर्मचारीहरूले आन्दोलन जारी राखेका हुन्।

Back To Top
Modern Footer Design