भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै प्रधानमन्त्री बालेन

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल आउन निम्तो दिएका हुन्। सो अवसरमा उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्न नेपाल सरकार तयार रहेको पनि बताए। प्रधानमन्त्री शाहले नेपाल र भारतबीच विकास तथा समृद्धिका क्षेत्रमा सहकार्यको नयाँ अध्याय सुरु भएको उल्लेख गर्दै दुई देशबीचको साझेदारीलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

संयुक्त पत्रकार सम्मेलनअघि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम–अयोध्या रेल सेवाको शुभारम्भ गरेका थिए। उद्घाटनसँगै भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट ‘सर्यु कमला एक्सप्रेस’ जनकपुरधामका लागि प्रस्थान गर्नेछ। पत्रकार सम्मेलनअघि नेपाल–भारत सम्बन्ध र दुई देशबीच भइरहेका विकास निर्माणका काम समेटिएको भिडियो सामग्री पनि प्रदर्शन गरिएको थियो। उक्त सामग्रीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनदेखि नेपालको जलविद्युत् क्षेत्रमा भारतले गरिरहेको सहकार्यसम्मका विषय समेटिएका थिए।

यसअघि प्रधानमन्त्री शाहले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री शाहको भारत भ्रमणमा नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी छन्।

Back To Top
Modern Footer Design