१० बुँदे माग राख्दै डेन्टल हाइजेनिस्टहरू स्वास्थ्य व्यवसायी परिषद्मा धर्ना र रिले अनशनमा

काठमाडौं । आफ्ना पेसागत अधिकार, प्रतिनिधित्व र संस्थागत सुधारको माग गर्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा धर्ना तथा रिले अनशन सुरु गरेको छ।

सोमबारदेखि सुरु भएको आन्दोलनमा एसोसिएसनले १० बुँदे माग अघि सारेको छ। ‘हाम्रो पेसाको सम्मान गरौँ’ भन्ने नारासहित आन्दोलनमा उत्रिएका उनीहरूले परिषद्को कामकारबाही पारदर्शी र निष्पक्ष हुनुपर्ने तथा डेन्टल जनशक्तिको पेसागत हकहित सुनिश्चित गरिनुपर्ने माग गरेका छन्। एसोसिएसनले निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई सहभागी नगराउन, परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्टलगायत सम्बन्धित पेसागत संस्थाको कानुनअनुसार प्रतिनिधित्व सुनिश्चित गर्न र डेन्टल समुदायका लागि छुट्टै व्यवस्था हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने माग राखेको छ।

त्यसैगरी, परिषद्का सदस्यहरूको कार्यकाल स्पष्ट पार्न, पदावधि सकिएका सदस्यलाई जिम्मेवारीमा निरन्तरता नदिन, नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १० (४) पूर्ण रूपमा कार्यान्वयन गर्न तथा विगतमा भएका सहमति र सम्झौता तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ। आन्दोलनबारे एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले लामो समयदेखि परिषद्भित्र देखिएका विसङ्गति, स्वार्थको द्वन्द्व र पेसागत प्रतिनिधित्वको समस्याविरुद्ध आवाज उठाउँदै आए पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको बताएका छन्।

उनका अनुसार डेन्टल जनशक्तिको कार्यक्षेत्र, अधिकार, अवसर र परीक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी तथा विश्वसनीय बनाउन आवश्यक छ। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले स्पष्ट पारेका छन्। एसोसिएसनले परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणालीमा सुधार र प्रभावकारी अनुगमन गर्नुपर्ने, दर्ता भएका डेन्टल जनशक्तिको पेसागत सम्मान, सुरक्षा र कार्यक्षेत्र सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारेको छ। त्यस्तै, डेन्टल जनशक्तिको कार्यक्षेत्र, अधिकार र अवसरसँग सम्बन्धित निर्णय गर्दा सम्बन्धित पेसागत सङ्घ–संस्थासँग आवश्यक परामर्श र समन्वय गर्नुपर्नेमा पनि एसोसिएसनले जोड दिएको छ।

Back To Top
Modern Footer Design