भेनेजुएला। भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार छोटो समयको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका ती भूकम्पले व्यापक क्षति पुर्याएको आशंका गरिएको छ।
यूएसजीएसका अनुसार पहिलो भूकम्प गएको करिब ३९ सेकेन्डपछि दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम क्षेत्रमा रहेको बताइएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार भूकम्पका कारण ठूलो मानवीय क्षति हुन सक्ने सम्भावना रहेको छ। यूएसजीएसले १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको जनाएको छ भने एक लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्ने सम्भावना ३० प्रतिशत रहेको उल्लेख गरेको छ।
भूकम्पपछि प्रभावित क्षेत्रमा केही भवन तथा संरचना पूर्ण रूपमा भत्किएको र अन्य भौतिक क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि समाचार तयार पार्दासम्म क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन। उद्धारकर्मी तथा सुरक्षा निकायहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका छन्। भूकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाको उद्धार तथा क्षतिको यथार्थ विवरण संकलन गर्ने काम जारी रहेको जनाइएको छ।
