काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन्।
नतिजाले आफ्नो वास्तविक मेहनत र शैक्षिक उपलब्धिलाई प्रतिबिम्बित नगरेको दाबी गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले प्रकाशित नतिजामा त्रुटि भएको आशंका व्यक्त गर्दै निष्पक्ष पुनरावलोकनको माग गरेका छन्। विद्यार्थीहरूले पुनःजाँच (रिचेकिङ) र पुनर्योग (रिटोटलिङ)का लागि तोकिएको शुल्क अत्यधिक भएको भन्दै त्यसलाई व्यवहारिक बनाउन पनि माग गरेका छन्।
उनीहरूका अनुसार नतिजासम्बन्धी गुनासोबारे सम्बन्धित निकायले स्पष्ट जवाफ नदिँदा अन्योल झन् बढेको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरूले नतिजा प्रणालीमा देखिएको समस्याबारे सरकार र परीक्षा बोर्डले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्। उनीहरूले आफूहरूको आवाजलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
