सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीमा टाटा सुमो खस्दा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सुनकोशी नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ की युपना राई रहेकी छन्। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी छ। बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरी बलका गोताखोरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना र ओखलढुंगाको हर्कपुरस्थित अस्थायी मनसुन बेसबाट १० जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्। खोजी तथा उद्धारमा नेपाल प्रहरीको टोलीसमेत संलग्न छ।
दुर्घटनामा घाइते भएका चार जनाको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये गाडीका चालक ओखलढुंगाका २९ वर्षीय आशिष विष्ट अचेत अवस्थामा छन्। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र खोटाङको दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुने तथा बेपत्ता भएकाहरूको पहिचान र खोजी कार्य जारी छ।
