देशभर चिसो बढ्दै, जुम्लाको तापक्रम शून्यभन्दा तल

काठमाडौँ । देशभर चिसो बढ्न थालेसँगै न्यूनतम तापक्रममा गिरावट देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा तापक्रम घट्दै गएको हो। महाशाखाका अनुसार आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन गरिएको छ। पछिल्लो तीन दिनयता काठमाडौँको तापक्रम निरन्तर घटिरहेको छ। शुक्रबार १५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम शनिबार १३.८ डिग्रीमा झरेको थियो।

जुम्लामा माइनस ०.५ डिग्री

देशका विभिन्न स्थानमध्ये जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। आइतबार बिहान जुम्लाको तापक्रम माइनस ०.५ डिग्री सेल्सियसमा झरेको महाशाखाको तथ्याङ्कले देखाएको छ। शुक्रबार ३ डिग्री र शनिबार १.५ डिग्री सेल्सियस रहेको जुम्लाको तापक्रम लगातार घटिरहेको छ।

अन्य स्थानको न्यूनतम तापक्रम

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान विभिन्न स्थानमा मापन गरिएको न्यूनतम तापक्रम यस्तो छ :

  • ओखलढुंगा : ६.२ डिग्री सेल्सियस
  • डडेलधुरा : ९.९ डिग्री सेल्सियस
  • ताप्लेजुङ : १३.७ डिग्री सेल्सियस
  • वीरेन्द्रनगर, सुर्खेत : १४.३ डिग्री सेल्सियस
  • दिपायल : १५.५ डिग्री सेल्सियस
  • धनकुटा : १५.६ डिग्री सेल्सियस
  • घोराही, दाङ : १७ डिग्री सेल्सियस
  • पोखरा : १७.५ डिग्री सेल्सियस

तापक्रम घट्दै गएसँगै विशेषगरी बिहान र रातिको समयमा चिसो बढ्न थालेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसोको प्रभाव थप बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

Back To Top
Modern Footer Design