काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सार्वजनिक यातायात क्षेत्रमा देखिएको बेथिति तथा चालकहरूको मानसिक र शारीरिक अवस्थाबारे सरकारले गम्भीर अध्ययन गर्नुपर्ने माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले पछिल्लो समय त्रिपुरेश्वरलगायतका स्थानमा भएका घटनाले यातायात क्षेत्रभित्रको समस्या र चालकहरूले भोगिरहेको मनोसामाजिक दबाबलाई सतहमा ल्याएको बताइन्। त्रिपुरेश्वरमा केही समयअघि बसभित्रै चालक अर्जुन दोङको ज्यान गएको घटनाले यातायात क्षेत्रको सुरक्षा व्यवस्था र ट्राफिक प्रहरीको नियमन प्रणालीमाथि समेत प्रश्न उठेको उनको भनाइ थियो। उनले मृतक चालकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिन्।
धितालले चालकलाई लामो समयसम्म काममा खटाउने, उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई बेवास्ता गर्ने र आम्दानीलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिमाथि प्रश्न उठाइन्। उनका अनुसार यस्तो कार्यशैलीले चालकहरूमा तनाव, दबाब र आक्रोश बढाउन सक्ने अवस्था सिर्जना गरिरहेको छ। उनले ट्राफिक प्रहरी र चालकबीचको सम्बन्ध तथा ट्राफिक प्रहरीको नियमन शैली व्यवहारिक र मर्यादित छ कि छैन भन्ने विषयमा समेत अध्ययन आवश्यक रहेको बताइन्।
‘कति कमायो भन्ने कुरालाई मात्रै प्राथमिकता दिँदा चालकहरूको मनोसामाजिक अवस्था बिग्रिरहेको छ। यसतर्फ व्यवसायी र राज्यको ध्यान किन पुग्न सकेको छैन ?’ उनले प्रश्न गरिन्। सडकमा यात्रु र चालक दुवैको सुरक्षालाई केन्द्रमा राखेर वैज्ञानिक र व्यवहारिक नियमन प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिइन्। चालकलाई मात्रै दोष दिएर यातायात क्षेत्रका समस्या समाधान नहुने उनको भनाइ थियो। धितालले चालकको लाइसेन्स वितरण प्रक्रियादेखि यातायात व्यवसायीको नियमनसम्मका व्यवस्थाको पुनरावलोकन गर्न सरकारसँग आग्रह गरिन्। साथै यातायात क्षेत्रका मजदुर तथा व्यवसायी सामाजिक सुरक्षा कोषमा आबद्ध छन् कि छैनन् र चालकहरूले आफ्नो हकहित तथा सामाजिक सुरक्षाको प्रत्याभूति पाएका छन् कि छैनन् भन्ने विषयमा पनि सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताइन्।
