काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक महत्वाकांक्षा वा पदको लालचले नभई छोराको न्याय खोज्दै संसद्मा आएको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले आफ्नो संसद् यात्रा व्यक्तिगत पीडा र न्यायको खोजसँग जोडिएको बताइन् । उनले आफ्नो छोराको ज्यान लिने शासकको गोली र बगेको रगतले आफूलाई न्यायका लागि संसद्को रोस्टमसम्म ल्याएको बताइन् । उनले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि जनतालाई दुःख दिने र राज्यले बाटो बिराउने प्रवृत्ति अझै कायम रहेको बताइन् । सरकार गलत दिशामा अघि बढे संसद्मा रहेका जनप्रतिनिधिले खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद खतिवडाले आफ्नो छोराको मृत्यु र आफू संसद्मा आएको विषयलाई लिएर भएका टिप्पणीप्रति समेत आपत्ति जनाइन् । छोराको मृत्युको पीडामाथि राजनीति गरेर पद लिएको भन्ने टिप्पणीले आफूलाई थप पीडा दिएको उनले बताइन् । उनले भनिन्, ‘मेरो छातीको घाउमाथि कसैले प्रहार नगरोस् । मेरो छोरा र म त शहीद भयौँ, कम्तीमा अब मेरा छोराजस्ता अरू छोराहरूले मर्न नपरोस् ।’
सांसद खतिवडाले सरकारसँग आफ्नो छोराको न्याय सुनिश्चित गर्न माग गर्दै आगामी दिनमा कुनै पनि आमाले आफ्ना सन्तान गुमाउनुपर्ने अवस्था नआओस् भनेर राज्य गम्भीर बन्नुपर्ने बताइन् । उनले आफ्नो छोराको बलिदानी खेर जान नदिने र यस्ता घटना दोहोरिन नदिन राज्यले जिम्मेवारी लिनुपर्नेमा जोड दिइन् ।
