काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट गठन हुने केन्द्रीय समितिको आकार टुंगो लगाएको छ।
सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले २३२ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार केन्द्रीय समितिमा १७१ जना निर्वाचनबाट चयन हुनेछन् भने ६१ जना मनोनीत गरिनेछन्। निर्वाचित हुनेमध्ये प्रत्यक्ष खुलातर्फ ४५ जना र महिलातर्फ १२ जना रहनेछन्। त्यस्तै, प्रदेशबाट २८ जना, दलित समुदायबाट १२ जना, आदिवासी जनजातिबाट १७ जना र खस–आर्यतर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
मधेसी समुदायबाट ११ जना, थारुबाट ५ जना र मुस्लिम समुदायबाट ३ जना निर्वाचित हुनेछन्। पिछडिएको क्षेत्रबाट २ जना तथा अल्पसंख्यक र अपांगता भएका समूहबाट १–१ जना प्रतिनिधि केन्द्रीय समितिमा आउनेछन्। श्रमिकतर्फबाट भने ३ जना निर्वाचित हुनेछन्। यसैगरी पेशागत क्षेत्रबाट ७ जना र युवा (प्रदेश) तर्फबाट २१ जना केन्द्रीय सदस्य चयन हुनेछन्। प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा सहिद परिवारको प्रतिनिधित्व हुने गरी थप ३ जना निर्वाचित गर्ने व्यवस्था गरिएको छ। कांग्रेसको केन्द्रीय समितिको यो नयाँ संरचना महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि मात्रै औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।
