दीपमाला ढकालले जितिन् मिस नेपाल–२०२६ को ताज

काठमाडौं । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले आफ्नो नाममा गरेकी छन्। शनिबार आयोजित प्रतियोगिताको भव्य अन्तिम चरणमा २४ प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उनले विजेताको ताज पहिरिन सफल भइन्।

द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा कसिस् सुब्बा मिस नेपाल कस्मो–२०२६ घोषित भइन् भने आर्या निशातले मिस नेपाल इन्टरनेसनल–२०२६ को उपाधि हात पारिन्।

विजेता ढकाल हाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा इन्भेस्टमेन्ट स्ट्र्याटेजिस्टका रूपमा कार्यरत छिन्। उनी पेशागत सफलतासँगै ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविकाका रूपमा पनि परिचित छिन्।

सामाजिक सेवामा समेत सक्रिय ढकाल अहिले नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बासडरका रूपमा आबद्ध छिन्। मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने र आफ्नो अभियानलाई विश्वव्यापी बनाउने लक्ष्य रहेको उनले बताएकी छन्।

ढकालको परिवार र मिस नेपाल प्रतियोगिताबीच पुरानो सम्बन्ध पनि रहेको छ। उनकी आमाले सन् १९९४ मा आयोजना भएको पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धीका रूपमा सहभागिता जनाएकी थिइन्।

Back To Top
Modern Footer Design