काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप घटेको छ। दसैँ मनाउन सर्वसाधारण आ–आफ्नो जन्मथलो फर्किएसँगै उपत्यकाका सडकमा चहलपहल कम देखिएको हो।
नवरात्रका अन्य दिनको तुलनामा आइतबार महाअष्टमीका दिन उपत्यकाका सडकमा न्यून संख्यामा सवारीसाधन सञ्चालनमा रहेका छन्। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढेपछि राजधानीका सडकमा सवारी चाप घटेको हो। सवारीसाधनको चाप कम भए पनि तीव्र गतिमा सवारी चलाउने गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकजाँच गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन सीसीटीभी क्यामेरामार्फत समेत निरन्तर निगरानी भइरहेको छ।
