सर्लाहीमा अदालतको सजायबाट बच्दै हिँडेका ११ प्रतिवादी पक्राउ

सर्लाही । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ११ जना प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बागमती नगरपालिका–६ का आनन्द कुमार राय रहेका छन्। उनी लागुऔषध तथा मोबाइल चोरीसम्बन्धी चार फरक मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनीमाथि तीन महिनादेखि तीन महिना १५ दिनसम्मको कैद सजाय र प्रत्येक मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै, बरहथवा नगरपालिका–१६ का रामधारी राय यादव कुटपिट मुद्दामा दोषी ठहर भई १० हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका थिए। चक्रघट्टा गाउँपालिकाका सुरेश यादव, शेख इसराफुल, विजय साह सोनार, शेख ममताज तथा विजय साह कलवारलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दामा जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। यस्तै, चक्रघट्टा गाउँपालिका–६ का कृष्ण कुमार राय गम्भीर चोरी मुद्दामा दोषी ठहर भई ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय पाएका थिए।

ईश्वरपुर नगरपालिका–११ का भोला राय यादव र दीप बहादुर बल लागुऔषध मुद्दामा जनही २० हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादी थिए। चक्रघट्टा गाउँपालिका–७ का सत्रोधन कुशवाहालाई भने लागुऔषध मुद्दामा ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। प्रहरीले पक्राउ परेका सबै प्रतिवादीलाई असार २० गते सर्लाही जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

Back To Top
Modern Footer Design