बुटवल । रुपन्देहीको बुटवलमा महिलामाथि गोली प्रहार गरी भारततर्फ फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्। उनलाई विशेष सूचनाका आधारमा कात्तिक १ गते नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्सारीले २०८२ वैशाख ६ गते बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार गरेका थिए। पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भएकी क्षेत्रीमाथि आक्रमण गरेपछि अन्सारी भारततर्फ फरार भएका थिए।
नेपाल प्रवेश गरेको सूचना पाएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले अन्सारीको साथबाट यूपी ५६ एएच ०५१६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
