चलचित्र समाजको समय र संस्कृतिको दस्तावेज हो: मन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले चलचित्रलाई केवल मनोरञ्जनको माध्यम नभई समाजको सामूहिक स्मृति, संस्कृति र समयको दस्तावेजका रूपमा व्याख्या गरेका छन्।

शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा बोल्दै उनले कुनै देशलाई बुझ्न चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। उनका अनुसार चलचित्रले समाजको यथार्थ, सांस्कृतिक पहिचान र समयको चित्र प्रस्तुत गर्छ। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पछिल्ला वर्षहरूमा नेपाली चलचित्र उद्योगले उल्लेखनीय व्यापारिक सफलता हासिल गरेको बताए। उनका अनुसार नेपाली चलचित्रको व्यापार एक अर्ब रुपैयाँभन्दा माथि पुगेको छ, जुन उद्योगका लागि सकारात्मक संकेत हो। उनले चलचित्र विधेयकलाई छिट्टै ऐनमा रूपान्तरण गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ भने नवीन चौहान उत्कृष्ट निर्देशक बनेका छन्। सोही फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन्। ‘परान’ फिल्मका नीर शाह उत्कृष्ट अभिनेता बने भने सोही फिल्मले उत्कृष्ट पटकथाको पुरस्कार पनि जित्यो। छायांकनतर्फको पुरस्कार ‘कोशेढुंगा’ले प्राप्त गर्‍यो। यसै अवसरमा विभिन्न कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूलाई विशेष योगदान सम्मान र दीर्घ साधना सम्मान प्रदान गरिएको थियो।

Back To Top
Modern Footer Design