वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–२६ सुगौलीमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ। स्थानीयले निर्माण कार्यमा भएको लापरबाहीका कारण दुःखद घटना भएको बताएका छन्।
मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन्। दुवै दिदीबहिनी सोमबारदेखि हराइरहेका थिए। मंगलबार बिहान निर्माणाधीन पुलको खाल्डोमा उनीहरूको शव तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए। हजुरबुवा खेतको काममा व्यस्त रहेका बेला बालिकाहरू नजिकै खेलिरहेका थिए। केही समयपछि उनी घर फर्किएका थिए भने पुनः खेतमा पुग्दा दुवै बालिका बेपत्ता भएका थिए।
त्यसपछि परिवारका सदस्य र स्थानीयले गाउँ तथा आसपासका क्षेत्रमा व्यापक खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेन। रातिसम्म पनि फेला नपरेपछि बालिकाकी आमा अन्तिमा देवीले इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा छोरीहरू हराएको जानकारी गराएकी थिइन्। उजुरी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा टोली परिचालन गरी रातभर खोजी अभियान सञ्चालन गरिएको थियो। खोजीका क्रममा मंगलबार बिहान खेतबाट करिब ५ सय मिटर पूर्व रहेको निर्माणाधीन पुलको खाल्डोमा दुवै बालिकाको शव फेला परेको हो।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार वर्षाका कारण पानी भरिएको उक्त खाल्डोमा खेल्ने क्रममा सन्तुलन गुमाएर खसेपछि बालिकाहरूको डुबेर मृत्यु भएको हुनसक्ने देखिएको छ। घटनाको जानकारी पाएपछि पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको यथार्थ कारण खुल्ने प्रहरीले जनाएको छ। यस दुःखद घटनापछि सुगौली क्षेत्र शोकमग्न बनेको छ भने स्थानीयले निर्माणाधीन संरचनामा आवश्यक सुरक्षा व्यवस्था अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
