काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको साउन २७ गते बसेको सञ्चालक समिति बैठकले आगामी भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेस गरी अनुमोदन गराउने तयारी गरेको छ । यस्तै, आईपीओ निष्कासनको प्रक्रियाका क्रममा नियामक निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, थपघट वा अन्य कुनै परिवर्तन गर्न निर्देशन आएमा आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।
कम्पनीले व्यवसाय विस्तारका लागि आवश्यक जग्गा खरिद गर्ने प्रस्तावसमेत साधारण सभाबाट अनुमोदन गराउने जनाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।
