पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति महासङ्घको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो। धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उजुरी परेको बताइएको छ। सोही प्रकरणमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्कासहितको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ।

पत्रकार श्रेष्ठको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासङ्घले समाचारप्रति असन्तुष्टि भए स्थापित कानुनी प्रक्रिया र सम्बन्धित निकायमार्फत समाधान खोज्नुपर्ने बताएको छ। समाचारको विषयलाई लिएर साइबर ब्युरोमार्फत पक्राउ गरिनु प्रेस स्वतन्त्रता र संवैधानिक मान्यताविपरीत भएको महासङ्घको ठहर छ। महासङ्घले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यशक्तिको आडमा स्वेच्छाचारी व्यवहार गरिएको भन्दै घटनाको भर्त्सना गरेको छ। यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रश्न उठाउने महासङ्घको भनाइ छ।

पत्रकारमाथि हुने यस्ता व्यवहार सच्याउन सरकारको ध्यानाकर्षण गराउँदै महासङ्घले श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ। साथै, समाचारका विषयमा उत्पन्न विवादको समाधानका लागि सम्बन्धित निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएको छ। महासङ्घले प्रेस काउन्सिल नेपाललाई पनि आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

Back To Top
Modern Footer Design