काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
हालै सम्पन्न पार्टीको १५औँ महाधिवेशनमा भारी मतसहित सभापतिमा निर्वाचित थापालाई केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन्। शपथ ग्रहणसँगै थापाले सभापतिको पदभारसमेत सम्हालेका छन्।
शपथ ग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको थियो। कांग्रेसका अनुसार केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भने दसैँपछि आयोजना गरिनेछ। पार्टीको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।
