दक्षिण अफ्रिकाको पुनरागमन, चेकियासँग १–१ को बराबरी

एटलान्टा । तेबोहो मोकोएनाले खेलको अन्तिम चरणमा पेनाल्टीमार्फत गोल गरेपछि दक्षिण अफ्रिकाले फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेकियासँग १–१ को बराबरी खेलेको छ।

एटलान्टामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा चेकियाले सुरुआतमै अग्रता बनाएर दक्षिण अफ्रिकामाथि दबाब सिर्जना गरेको थियो। प्रशिक्षक मिरोस्लाभ कोउबेकको योजनाअनुसार आक्रामक सुरुवात गरेको चेकियाले खेलको छैटौँ मिनेटमै गोल निकाल्न सफल भयो। एडम ह्लोजेकको क्रसमा अलेक्जेन्डर सोज्काले उत्कृष्ट पास मिलाएपछि मिखाल सादिलेकले आकर्षक फिनिसिङ गर्दै टोलीलाई अग्रता दिलाए। पाँच मिनेट आठ सेकेन्डमा भएको उक्त गोल जारी विश्वकपकै सबैभन्दा छिटो गोलका रूपमा समेत दर्ज भएको छ। पहिलो हाफमा अग्रता जोगाएको चेकियाले दोस्रो हाफमा पनि खेलमाथि नियन्त्रण कायम राख्ने प्रयास गर्‍यो। यद्यपि, दक्षिण अफ्रिकाले क्रमशः दबाब बढाउँदै खेलमा फर्किने संकेत देखाएको थियो।

दोस्रो हाफमा मैदान प्रवेश गरेका २१ वर्षीय रेलेबोहिल मोफोकेङले दक्षिण अफ्रिकाको आक्रमणलाई नयाँ ऊर्जा दिए। उनका केही प्रभावशाली प्रयासका बाबजुद चेकियाको रक्षापंक्ति मजबुत देखिएको थियो। तर खेलको ८३औँ मिनेटमा पावेल सुल्कले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि दक्षिण अफ्रिकाले बराबरी गर्ने सुनौलो अवसर पायो। उक्त अवसरलाई तेबोहो मोकोएनाले सदुपयोग गर्दै गोलकिपर मातेज कोभारलाई झुक्याएर बल जाली चुमाए र खेल १–१ को बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोलीले निर्णायक गोलको प्रयास गरे पनि सफल हुन नसकेपछि अंक बाँड्न बाध्य भए। यस बराबरीसँगै समूह ‘ए’ मा दक्षिण अफ्रिका र चेकियाले समान एक–एक अंक जोडेका छन्। खेलमा उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेका चेकियाका कप्तान लादिस्लाभ क्रेज्की ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

Back To Top
Modern Footer Design