काठमाडौँ । बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि बुधबारदेखि ग्राहकका लागि पुनः खुला गरिएको हो।
गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा लागेको आगोका कारण स्टोरमा उल्लेखनीय क्षति पुगेको थियो। त्यसपछि बन्द रहेको स्टोरको संरचना, सेवा सुविधा तथा अन्य आवश्यक पूर्वाधार पुनर्स्थापना गरी नियमित सञ्चालनमा ल्याइएको भाटभटेनी व्यवस्थापनले जनाएको छ।
पुनः सञ्चालनसँगै बौद्ध क्षेत्रका उपभोक्ताले दैनिक उपभोग्य सामग्री तथा अन्य सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। लामो समयपछि स्टोर खुलेसँगै स्थानीय बासिन्दा तथा ग्राहकहरूलाई पनि सुविधा पुगेको छ।
