अमेरिका । इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यस हारसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि टुंगिएको छ।
डलासमा मंगलबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा दुवै टोलीबीच सुरुदेखि नै प्रतिस्पर्धात्मक खेल देखिएको थियो। पहिलो हाफमा दुवै पक्षले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले डानी ओल्मोको उत्कृष्ट पासलाई गोलमा परिणत गर्न नसक्दा टोलीले अग्रता लिने अवसर गुमाएको थियो। त्यसपछि एलेक्स बाएनाको आकर्षक प्रहारलाई पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखेका थिए।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि आक्रमणको नेतृत्व गरेका थिए। नुनो मेन्डेसको शक्तिशाली प्रहार डिफ्लेक्ट हुँदै क्रसबारमा लागेपछि पोर्चुगल गोलबाट वञ्चित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले सतर्क खेल प्रस्तुत गरेपछि खेल अतिरिक्त समयतर्फ जाने संकेत देखिएको थियो। तर इन्जुरी समयको पहिलो मिनेटमा स्पेनले निर्णायक प्रहार गर्यो। फेरान टोरेसको पासमा मैदान छिरेका मिकेल मेरिनोले शक्तिशाली प्रहार गर्दै गोल गरे र स्पेनलाई १–० को रोमाञ्चक जित दिलाए।
यस जितसँगै स्पेनले क्वार्टरफाइनलमा स्थान बनाएको छ। अब उसले लस एन्जलसमा हुने अन्तिम आठको खेलमा अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता, खेल सकिएसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। प्रतियोगिताअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका रोनाल्डोले विश्वकपमा कुल २७ खेल खेल्दै ११ गोल गरेका छन्। साथै, लगातार ६ संस्करणको विश्वकपमा गोल गर्ने पहिलो पुरुष फुटबलरको कीर्तिमान पनि उनकै नाममा रहेको छ।
