वैज्ञानिकको नयाँ उपलब्धि,३१ प्राचीन क्वासरको खोज

युरोप। युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को युक्लिड स्पेस टेलिस्कोपले ब्रह्माण्डको प्रारम्भिक इतिहासबारे नयाँ जानकारी दिने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। वैज्ञानिकहरूले पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेका ३१ वटा नयाँ क्वासर पत्ता लगाएको घोषणा गरेका छन्।

यीमध्ये दुई वटा क्वासर हालसम्म भेटिएका सबैभन्दा पुराना मानिएका छन्। वैज्ञानिकहरूका अनुसार ती क्वासरबाट आएको प्रकाश ब्रह्माण्डको उत्पत्तिपछि करिब ६७ करोड वर्ष बित्दादेखि यात्रा गरिरहेको छ। यो ब्रह्माण्डको वर्तमान अनुमानित उमेर १३.८ अर्ब वर्षको करिब पाँच प्रतिशत मात्र हो।

क्वासर भनेको के हो ?

खगोलविद्का अनुसार क्वासर ब्रह्माण्डका सबैभन्दा चम्किला खगोलीय वस्तु हुन्। यिनीहरूको केन्द्रमा रहेका विशाल ब्ल्याक होलले वरपरका धूलो र ग्यासलाई तान्ने क्रममा अत्यधिक ऊर्जा र प्रकाश उत्सर्जन गर्ने भएकाले यिनीहरू टाढाबाट पनि अत्यन्त चम्किला देखिन्छन्। यो अनुसन्धान नेदरल्यान्ड्सको लाइडेन विश्वविद्यालयका वैज्ञानिक डेमिङ याङको नेतृत्वमा गरिएको हो। सन् २०२३ मा अन्तरिक्षमा पठाइएको युक्लिड टेलिस्कोपले छोटो समयमै प्राचीन क्वासरको खोजलाई नयाँ उचाइमा पुर्‍याएको अनुसन्धान टोलीको भनाइ छ।

वैज्ञानिकहरूका अनुसार नयाँ क्वासरको खोजले ब्रह्माण्डको प्रारम्भिक चरणमा भएका परिवर्तनलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ। विशेषगरी पहिलो तारा र आकाशगंगाको निर्माण तथा ब्रह्माण्ड कसरी विस्तार हुँदै गयो भन्ने विषयमा थप अनुसन्धानका लागि यो उपलब्धि महत्वपूर्ण मानिएको छ। अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यति प्रारम्भिक समयमा नै सूर्यभन्दा अर्बौं गुणा ठूलो ब्ल्याक होल कसरी बने भन्ने प्रश्न अझै रहस्यमय रहेको बताएका छन्। उनीहरूका अनुसार युक्लिड र जेम्स वेबजस्ता अत्याधुनिक स्पेस टेलिस्कोपका माध्यमबाट अब ब्रह्माण्डको पहिलो एक अर्ब वर्षको इतिहासबारे अझ विस्तृत अध्ययन गर्न सकिने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design