काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली घर भई काठमाडौँको बुढानिलकण्ठ–२ बस्दै आएका ३६ वर्षीय कुनसाङ लामा, बर्दिया घर भई तारकेश्वर–८ बस्ने ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङ घर भई टोखा–५ बस्ने ४८ वर्षीय उमेश लिम्बु, तनहुँ घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २१ वर्षीया सचिता परियार तथा खोटाङ घर भई बुढानिलकण्ठ–१० बस्ने ४१ वर्षीय निरोज राई रहेका छन्।
प्रहरीका अनुसार कुनसाङ लामाले यूएई पठाइदिने भन्दै एक जनाबाट २ लाख ७ हजार रुपैयाँ, धनबहादुर शाहीले जर्जिया पठाइदिने भन्दै एक जनाबाट २ लाख ९५ हजार रुपैयाँ उठाएका थिए।यस्तै, उमेश लिम्बुले बेलारुस पठाइदिने भन्दै ५ लाख रुपैयाँ, सचिता परियारले रोमानिया पठाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ तथा निरोज राईले टर्की पठाइदिने प्रलोभनमा दुई जनाबाट कुल ७ लाख ९० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङ र धनबहादुरलाई बिहीबार तथा उमेश, सचिता र निरोजलाई शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
