आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा दक्षिण र पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ।

हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान र पहाडी क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराईका केही क्षेत्रमा चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर बदली कायम रहने अनुमान छ। हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Back To Top
Modern Footer Design