आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशीका हिमाली र पहाडी भूभाग, मधेसका धेरै स्थान तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने सम्भावना छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। रातिको समयमा समेत देशभर आंशिकदेखि सामान्य बदली रहने र हिमाली, पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन तथा चट्याङ्सहित वर्षा जारी रहने मौसमविद्ले बताएका छन्।

भारी वर्षाका कारण पहाडी तथा हिमाली जिल्लामा पहिरो, भू–क्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। त्यस्तै, तराई र सहरी क्षेत्रमा डुबान तथा नदी–खोलामा जलसतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, यात्रा, निर्माण कार्य तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

Back To Top
Modern Footer Design