रुपन्देही । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकिशोर कुशवाहले दिएको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार रहेका तत्कालीन सिइओ निरजबिक्रम शाह पक्राउ परेका हुन्। उनीसँगै नेपालगन्ज उपमहानगरपालिका–१२ की ३९ वर्षीया दीपा थापा, जो बैंककी तत्कालीन शाखा प्रबन्धक हुन्, र शाहकी श्रीमती ४३ वर्षीया सुभेच्छा श्रेष्ठ पनि पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रतीकसिंह राठौरका अनुसार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका–१२ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा पेस गरिएको प्रहरीले जनाएको छ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकबाट ३ अर्ब २० करोड ११ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो। उक्त प्रकरणमा सीआइबीले १११ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गरेको थियो।
सीआइबीको अनुसन्धान प्रतिवेदनमा बैंकमा भएको आर्थिक अनियमिततामा नेपाल राष्ट्र बैंकका केही अधिकारीहरूको समेत मिलेमतो रहेको उल्लेख गरिएको छ।
बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको थियो। सोही समितिले बैंकको व्यवस्थापन सम्हाल्दै आएको थियो।
कर्णाली डेभलपमेन्ट बैंकले बाँके, बर्दिया र दाङलगायतका जिल्लाका हजारौँ सर्वसाधारण तथा स्थानीयबाट बचत रकम संकलन गर्दै आएको थियो। बैंकमा भएको भनिएको आर्थिक अनियमितताको प्रकरणपछि बचतकर्ताको रकम र बैंकको वित्तीय अवस्थाबारे समेत चासो बढेको छ।
