पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुनी गतिविधि कायमै

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव अझै सक्रिय रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ। जसका कारण देशका अधिकांश भूभागमा बदलीसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै, लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

रातिको समयमा पनि देशका अधिकांश भूभागमा बदली रहनेछ। हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। यस्तै, कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र तथा बागमतीको पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design