काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा–सुविधा र अवसर उपलब्ध गराउन असफल भएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले देशमा सर्वसाधारण नागरिकदेखि सांसदसम्म सुरक्षित नरहेको दाबी गरे। उनले प्रधानमन्त्रीले आफ्नो नैतिक तथा पदीय जिम्मेवारी पूरा गर्दै संसद्मा उपस्थित हुनुपर्ने मागसमेत गरे। प्रधानमन्त्रीलाई आफूहरूले साढे दुई महिनादेखि संसद्मा उपस्थित हुन आग्रह गर्दै आए पनि नआएको भन्दै राईले बालहठ नगर्न चेतावनी दिए। देशका विभिन्न स्थानमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना भइरहे पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको उनको आरोप छ। नागरिकले निर्धक्क भएर यात्रा गर्न सक्ने वातावरण निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
न्यायको अवस्था पनि कमजोर बन्दै गएको दाबी गर्दै राईले आन्दोलनरत नागरिकका समस्या बुझ्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरू स्वयं सडकमा पुग्नुपर्ने बताए। उनले भने, ‘मन्त्रालयमा एसीको हावा खाँदै बसेर देश भेट्न सकिँदैन । देश बुझ्न खोलाखोल्सी, खेत र कारखानासम्म पुग्नुपर्छ । आन्दोलन गरिरहेका नागरिकका बीचमा सडकमा पुगेर उनीहरूको आवाज सुन्नुपर्छ।’ ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने नागरिकको पीडा सरकारले बुझ्न नसकेको पनि उनले बताए। ठूलो अपेक्षासहित जनताले वर्तमान सरकारलाई मत दिए पनि त्यसअनुसार परिवर्तनको अनुभूति हुन नसकेको उनको भनाइ थियो। राईले वर्तमान अवस्थाका लागि प्रधानमन्त्रीको लापरवाही, गैरजिम्मेवारी र मन्त्रीहरूबीच प्रभावकारी समन्वयको अभावलाई मुख्य कारणका रूपमा औँल्याए। सरकारभित्रै असमझदारी देखिएको दाबी गर्दै उनले अपरिपक्व ढंगले देश सञ्चालन गर्न नसकिने बताए।
