जिम्बाब्वेको करिबा तालमा डुंगा पल्टिँदा १५ जनाको मृत्यु

हरारे । जिम्बाब्वेको करिबा तालमा यात्रु बोकेको डुंगा दुर्घटनामा पर्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

जिम्बाब्वेको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार घटनामा ७७ जनाको सकुशल उद्धार गरिएको छ। डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। सिभिल प्रोटेक्सन युनिटका अनुसार डुंगामा ११४ जना वयस्क यात्रु र पाँच जना चालक दलका सदस्य रहेको टिकट अभिलेखबाट देखिएको छ। डुंगाको क्षमता भने ९० जनाको मात्रै थियो। बालबालिकाको संख्या भने अभिलेखमा समावेश नभएको हुनसक्ने बताइएको छ।

दुर्घटनाअघि करिबा तालमा ठूलो छाल आएको स्थानीय स्रोतहरूले बताएका छन्। दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि स्पिडबोट र हेलिकोप्टर परिचालन गरिएको छ। प्रहरीले समेत उद्धार अभियान जारी रहेको जनाएको छ। करिबा ताल जिम्बाब्वे र जाम्बियाको सीमामा फैलिएको छ। जाम्बेजी नदीमा बाँध निर्माणपछि सन् १९५० को दशकको अन्त्यतिर यो विशाल मानव निर्मित ताल बनेको हो।

Back To Top
Modern Footer Design