काठमाडौँ । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत लोम्बोक टापुको समुद्री क्षेत्रमा यात्रुवाहक डुङ्गामा आगलागी भएपछि ११२ जनाको उद्धार गरिएको छ।
स्थानीय अधिकारीका अनुसार बुधबार ‘पुत्री यास्मिन’ नामक डुङ्गामा आगलागी भएपछि उद्धार अभियान सञ्चालन गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार नजिकै रहेको अर्को डुङ्गाले ३६ जनालाई उद्धार गरी बालीतर्फ ल्याएको थियो। त्यस्तै, खोज तथा उद्धार निकायको जहाजले ५९ जनालाई उद्धार गरेको थियो भने नौसेनाको जहाजले थप १७ जनालाई समुद्रबाट उद्धार गरेको अधिकारीहरूले बताएका छन्।
स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गर्दै डुङ्गामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य गरी कुल १३१ जना सवार रहेको जनाएका छन्। हालसम्म यात्रु वा चालक दलका सदस्यको मृत्यु वा घाइते भएको कुनै विवरण पुष्टि नभएको बताइएको छ। ‘पुत्री यास्मिन’ बालीबाट नजिकैको लोम्बोक टापुतर्फ जाँदै गर्दा आगलागी भएको हो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
