धनुषा । धनुषामा मिटरब्याजको समस्याबाट पीडित एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधामस्थित जिल्ला अदालत परिसरअगाडि बुधबार उनले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेकी हुन्।
जनकपुरधाम उपमहानगरपालिका–४ की ५० वर्षीया फूलकुमारी रजकले पेट्रोल छर्किएर आगो लगाउन खोजेपछि सुरक्षाकर्मीले तत्काल उनलाई रोकेका थिए। रजकले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहु गोपाल साहबाट ६ लाख रुपैयाँ लिएको बताइएको छ। लिएको रकम फिर्ता गरेर जग्गा फिर्ता माग्दा साहुले पटक–पटक समय दिए पनि जग्गा फिर्ता नगरेको उनको आरोप छ।
पछि आफ्नो बन्धकी राखेको जग्गा साहु गोपाल साहले बैंकमा धितो राखेर ऋण लिएको थाहा पाएपछि रजकले उनीविरुद्ध उजुरी दिएको बताइएको छ। यसै विषयमा गत साउन २ गते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह पक्राउ परेका थिए। उनीहरूविरुद्ध मिटरब्याज तथा ठगीसम्बन्धी एक दर्जनभन्दा बढी उजुरी परेको प्रहरीले जनाएको छ।
साह परिवारबाट पीडित भएको दाबी गर्दै सयौँ मिटरब्याज पीडितले उनीहरू पक्राउ परेकै दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालतअगाडि धर्ना दिँदै आएका छन्। पीडितहरूले पक्राउ परेका तीनै जनालाई कुख्यात मिटरब्याजीको आरोप लगाउँदै घटनाबारे उच्चस्तरीय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान गर्न माग गरेका छन्।
