काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन तथा धर्ना दिएको छ।
महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नाराबाजी गरेका थिए। शान्तिपूर्ण रूपमा धर्ना बस्न खोज्दा प्रहरीले अवरोध गरेपछि केही समय पत्रकार र प्रहरीबीच तनावसमेत भएको थियो।प्रदर्शनकारीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले कालोपट्टी बाँधेर सरकारबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोपसमेत लगाए।
प्रदर्शनमा सहभागी केही पत्रकारले बलिरहेको लालटिन बोकेका थिए। उनीहरूले पत्रकारलाई पक्राउ गरेर प्रेसको आवाज दबाउन खोजिएको भन्दै त्यसको विरोध जनाएका हुन्। जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। व्यक्तिगत गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी, प्रहरीले बुधबार बिहान जनआस्थाको कार्यालयमा समेत खानतलासी गरेको थियो।
श्रेष्ठको पक्राउ तथा जनआस्था कार्यालयमा गरिएको खानतलासीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै तत्काल बिनाशर्त रिहाइको माग गरेको छ। महासंघले माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ। श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय श्रेष्ठ निर्भीक र खरो पत्रकारका रूपमा परिचित छन्।
