जाजरकोटको रिसाङमा पहिरो,दुई जना बेपत्ता, सात घाइते

जाजरकोट । लगातारको वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्। पहिरोमा परी घाइते हुनेमा भेरी–२ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीया भद्राकली कार्की र ४५ वर्षीय सिद्धिबहादुर कामी तथा भेरी–१ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीया मोतिकला विक र १६ वर्षीया मनिषा विक रहेका छन्। घाइतेमध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।

घटनापछि उद्धार तथा खोजीका लागि अस्थायी प्रहरी पोस्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली परिचालन गरिएको छ। पहिरोका कारण भेरी नगरपालिका–३, जाजरकोट स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुईतले, छकोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ। घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा १० जनाको टोली उद्धार तथा खोजीका लागि परिचालन गरिएको छ।

Back To Top
Modern Footer Design