देशभर मनसुनी प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। महाशाखाका अनुसार सोमबार हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्छ। पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा पानी पर्ने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यसैबीच कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Back To Top
Modern Footer Design